जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी


.

जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सिंगो विश्व नयाँ वर्ष २०२४ को खुसीयालीमा झुमिरहेका बेला जापानमा भने शक्तिशाली भूकम्प गएको छ । भूकम्प मात्र गएन कि त्यहाँ सुनानीको चेतावी समेत दिइएको छ ।
 
सोमबार जापानको मध्य भागमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । 
इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।”
 
जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।
 
भूकम्पपछि इशिकावा प्रान्तको वाजिमा शहरमा १.२ मिटरको सामुद्रिक छाल आएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ । जापानको मौसमविज्ञान निकाय (जेएमए) का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ ।
 
जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 
त्यसपछि अपराह्न ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.५ म्याग्निच्युड, ४ः२९ मिनेटमा ४.६ म्याग्निच्युड र ४ः३२ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 
त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रसारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जान तत्काल आग्रह गरेका हुन् ।
 
तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।